नुवाकोटको ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा, बेत्रावतीसम्म आवागमन सहज
त्रिशूली (नुवाकोट), भदौ १६ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा आएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएपछि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आवागमन सहज भएको हो ।
भोटेकोशी बाढीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा यातायात सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले प्राथमिकताका साथ काम अघि बढाएको छ ।
ढुङ्गेबजारको बस्ती तथा सडकमा पुगेको क्षति र डुबानका कारण भएको अवरोध हटाएर आवागमन सहज बनाइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरबाट सामग्री सुरक्षित स्थानमा सार्न तथा बेत्रावतीसम्म पुग्न सहज भएको उहाँले बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठका अनुसार सडक सञ्चालन भएपछि क्षतिग्रस्त सडक मर्मतका लागि आवश्यक यन्त्र, उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा पठाउनसमेत सहज भएको छ ।
ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले भारी उपकरणसहित जनशक्ति परिचालन गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पनि सडक सञ्चालन तथा अन्य अत्यावश्यक कार्यमा सहयोग गरेका थिए ।

