पुल बगेपछि तुइनको सहारा : त्रिशूलीमा फेरि जोडिँदै जीवन



त्रिशूली (नुवाकोट),भदौ १६। भोटेकोशी हुँदै चीनको रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका थुप्रै पक्की पुल बगाएपछि नदी वारपार गर्ने पुरानो विकल्प फेरि फर्किएको छ—तुइन।

बाढीले मुख्य सडकमार्गमा रहेका पुल नै बगाएपछि जिल्लाका विभिन्न स्थानमा आवतजावत ठप्पजस्तै बनेको थियो। सडक र पुलको सम्पर्क टुट्दा बाढी प्रभावितसम्म राहत पुर्‍याउनसमेत कठिनाइ भएको थियो। यस्तो अवस्थामा बाढी आएको पाँचौँ दिन सोमबार त्रिशूली र देवीघाट क्षेत्रमा तुइन जडान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार धेरै जनघनत्व भएका र मानिसको ओहोरदोहोर बढी हुने स्थानलाई प्राथमिकतामा राखेर तुइन सञ्चालनमा ल्याइएको हो। यसको उद्देश्य बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई थप सहज बनाउनु पनि हो।

विदुर नगरपालिका–१ स्थित इन्द्रणीघाट र त्रिशूली बजारनजिकै रहेको गुम्बा क्षेत्रमा तुइन जोडिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिनुभयो।

त्यस्तै विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी पनि तुइन सञ्चालनमा ल्याइएको छ। बाढीले बनाएका ठूला अवरोधबीच नदीमाथि डोरी तानेर बनाइएको यो अस्थायी आवागमनको साधन अहिले स्थानीयका लागि वारपारको माध्यम बनेको छ। पक्की पुल नहुँदा रोकिएको दैनिक आवतजावतदेखि राहत सामग्री ओसारपसारसम्मका काम तुइनमार्फत अघि बढाउन थालिएको छ।

तुइन निर्माण र सञ्चालनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासी सक्रिय रूपमा खटिएका थिए। सबैको सामूहिक प्रयासमा तत्कालका लागि नदी वारपारको विकल्प तयार पारिएको हो।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार तुइन सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा आवतजावत केही हदसम्म भए पनि सहज भएको छ।

बाढीले भत्काएका पुल कहिले पुनर्निर्माण हुन्छन् भन्ने टुंगो नलागिसकेको अवस्थामा तत्कालका लागि तुइन नै त्रिशूली वारपार गर्ने सहारा बनेको छ। पुल बगाएको त्रिशूलीले सडक सम्पर्क तोडे पनि तुइनले भने बाढीले छुट्याएका बस्तीबीचको सम्बन्ध जोड्ने काम थालेको छ।

प्रतिक्रिया दिनुहोस्