छहरे–टोखा सडकखण्डमा एकतर्फी यातायात सञ्चालन
नुवाकोट,भदौ १६ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित छहरे–टोखा सडकखण्डको काफलडाँडा क्षेत्रमा खसेको सुख्खा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।
मंगलबार रुखसहितको सुख्खा पहिरो खसेपछि केही समय सडक दुवैतर्फी पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाएसँगै हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न मिल्ने भएको हो।
सडक पूर्ण रूपमा सहज नभएकाले यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरिएको छ। सवारीचालकलाई लेन अनुशासन पालना गर्न, अनावश्यक ओभरटेक नगर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
यात्रु तथा चालकलाई सुरक्षित यात्रा गर्नसमेत आग्रह गरिएको छ।

