भोटेकोशी बाढीपछि हेटौँडा–काठमाडौं सवारीको नयाँ रुट, ठूला गाडी त्रिभुवन राजपथबाट चल्ने



काठमाडौं,भदौ १६ । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले हेटौँडादेखि काठमाडौं चल्ने सवारीसाधनका लागि आजदेखि नयाँ रुट निर्धारण गरेको छ।

नयाँ व्यवस्थाअनुसार दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुवाहक सवारीसाधन हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ हुँदै सञ्चालन हुनेछन्। काठमाडौंबाट मकवानपुर फर्किँदा भने यस्ता सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।

कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। मौसम, सडकको अवस्था र यात्रुको सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन काठमाडौं–हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउनुपर्नेछ। काठमाडौं जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन तथा भारी मालबाहक सवारीसाधनले बेलिब्रिज प्रयोग गर्न नपाउने र त्यससँगै रहेको डाइभर्सनबाट सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रहरीले विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ। राजमार्गमा सवारी चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

यसैबीच, भोटेकोशी बाढी र अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीको कटानका कारण सडक भासिएर मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्णरूपमा अवरुद्ध भएको छ।

धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्