भोटेकोशी बाढी : सेनाको हवाई तथा जमिनी खोज–उद्धार तीव्र, जलविद्युत् आयोजनाका टनेलमा पनि खोजी



काठमाडौँ, भदौ १६ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। मंगलबार बिहान ११ बजेसम्म सेनाले हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको जनाएको छ।

बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका वा बेपत्ता भएकाहरूको खोजीका लागि विदेशी विशेषज्ञसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोको टनेलमा टोली करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ को टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरेको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको टनेल हेड फेला परेपछि कम्प्रेसरमार्फत टनेलभित्र हावा पठाउने काम भइरहेको छ।टनेलभित्र जमेको पानी निकाल्ने कार्यसँगै तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। टनेल प्रवेशका लागि रक ब्रेकरबाट ढुङ्गा फुटाउने कामसमेत भइरहेको सेनाले जनाएको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ मा विज्ञसहितको टोलीले टनेल प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी भित्र जाने मार्ग खोल्ने काम गरिरहेको छ। बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो। तीमध्ये रसुवागढीबाट २, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत्बाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना रहेका छन्।

उता, प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा नेपाली सेनाले पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, सुरक्षा प्रत्याभूति दिलाउने तथा थप उद्धार आवश्यकताको मूल्याङ्कन गरिरहेको छ।रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

सेनाका अनुसार उनीहरूले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम कम गर्न धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ तथा मुलपानी सामुदायिक वनस्थित शव व्यवस्थापन क्षेत्रलगायतका स्थानमा निसंक्रमणको काम गरिएको छ। अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निसंक्रमण कार्य अघि बढाइने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्