तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द, चीनतर्फ सयौँ कन्टेनर अलपत्र
सिन्धुपाल्चोक, भदौ १६ । चीन सरकारले नेपाल–चीन उत्तरी नाका तातोपानीको पारिपट्टि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै चिनियाँ पक्षले पोर्टबाट हुने भन्सार तथा कार्गो आवागमन अस्थायी रूपमा रोकिएको जानकारी इमेलमार्फत तातोपानी भन्सार कार्यालयलाई दिएको हो।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेका अनुसार चिनियाँ अधिकारीले पोर्ट केही समयका लागि बन्द गरिएको र पुनः सञ्चालनको मिति अर्को इमेलमार्फत जानकारी गराउने बताएका छन्। रसुवामा आएको बाढी र त्यसबाट भएको क्षतिलाई मध्यनजर गर्दै झाङ्मु पोर्टका कर्मचारी तथा प्रशासनलाई समेत सुरक्षित माथिल्लो क्षेत्रमा सारिएको जानकारी चिनियाँ पक्षले दिएको छ।
यसअघि नै खासामा निर्माण कार्य गर्नुपर्ने भन्दै चिनियाँ पक्षले केही दिनदेखि कन्टेनर पठाउन रोक्दै आएको थियो। सेप्टेम्बर ३ सम्म निर्माण कार्य सञ्चालन गर्नुपर्ने भएकाले आवागमनमा रोक लगाइएको बताइएको थियो। अहिले भने झाङ्मु पोर्टबाट हुने कार्गो आवागमन नै अस्थायी रूपमा बन्द गरिएको छ।
रसुवागढी नाका बाढीले क्षतिग्रस्त भएपछि नेपाल–चीन व्यापारका लागि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। तर, तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि चीनसँगको स्थलमार्ग हुँदै हुने व्यापारको विकल्प थप साँघुरिएको छ।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारी सडकखण्डमा पहिरोका कारण लामो समयदेखि ढुवानी प्रभावित हुँदै आएको थियो। करिब २६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएपछि सडकमार्गबाट हुने आयात–निर्यात लगभग ठप्प बनेको थियो। सडक विभागले टोली परिचालन गरी मर्मत गरेपछि करिब ४० दिनपछि सडक अस्थायी रूपमा सञ्चालनमा आएको थियो।
त्यसपछि पछिल्लो पटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएका थिए। अहिले झाङ्मु पोर्ट बन्द भएपछि नेपालतर्फ आउने तयारीमा रहेका मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समयदेखि व्यापारिक गतिविधि प्रभावित हुँदा चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत समस्यामा परेका छन्।
खासाभन्दा माथि न्यालम र थिङ्री क्षेत्रमा फलफूल बोकेका करिब ६० वटा कन्टेनर ४५ दिनदेखि अलपत्र अवस्थामा छन्। ती फलफूल वातानुकूलित कन्टेनरमा रहेकाले सुरक्षित भए पनि लामो समयसम्म पार्किङ गर्दा थप शुल्क लाग्ने भएकाले लागत बढ्ने व्यवसायीको भनाइ छ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष सुजित बस्नेतका अनुसार चिनियाँ क्षेत्रमा करिब ४० करोड रुपैयाँ बराबरका फलफूल रोकिएका छन्। दशैँ–तिहारलाई लक्षित गरी आयात गरिएका फलफूल समयमै नेपाल ल्याउन नसक्दा यस वर्ष व्यवसायीले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।
दशैँ–तिहार नजिकिँदै गर्दा दुवै प्रमुख उत्तरी नाका प्रभावित भएपछि नेपाल–चीन व्यापारसँगै चाडपर्वका लागि हुने फलफूल तथा अन्य उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। चिनियाँ पक्षले नाका कहिले पुनः सञ्चालन हुन्छ भन्नेबारे भने अहिलेसम्म कुनै निश्चित मिति दिएको छैन।

