भोटेकोशी बाढी : पोखरामा राखिएका ७८ शव व्यवस्थापन
पोखरा, भदौ १६ । चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ७८ वटा शव व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार व्यवस्थापन गरिएका शव पोखरा महानगरपालिका–१६ दीपस्थित सिँचाइ डिभिजन कार्यालयको जग्गामा राखिएको हो।
शव व्यवस्थापन गर्नुअघि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालको शवगृहमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्ष निकालिएको थियो। सोही आधारमा शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो।
प्रशासनका अनुसार व्यवस्थापन गरिएका प्रत्येक शवलाई छुट्टाछुट्टै नम्बर दिई अभिलेख राखिएको छ। भविष्यमा आवश्यक परेमा आफन्तले शव पहिचान गर्न तथा डीएनए परीक्षण गर्न सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १९ जनाको मात्र सनाखत भएको छ। पहिचान हुन नसकेका केही शव आफन्तले आफ्नो हुनसक्ने भन्दै दाबी गरेपछि त्यसबारे आवश्यक प्रक्रिया पूरा गर्न रोकिएको प्रहरीले जनाएको छ। त्यस्तै, एक शव विदेशी नागरिकको हुनसक्ने आशङ्कामा अस्पतालको शवगृहमा सुरक्षित राखिएको छ।
बाढीपछि तनहुँबाट २३, गोरखाबाट ११, गैँडाकोटबाट ४१ र धादिङबाट २७ वटा शव पोखरा ल्याइएको थियो। शव पहिचानका लागि आउने परिवार तथा आफन्तलाई आवश्यक सहयोग पुर्याउन अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको छ। हेल्प डेस्कमार्फत शवसम्बन्धी विवरण उपलब्ध गराउने तथा हस्तान्तरण प्रक्रिया व्यवस्थित बनाउने काम भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालले शवको पहिचान, परीक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आफ्ना सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।

