रसुवा बाढी प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिन राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित



काठमाडौँ, भदौ १६ । राष्ट्रिय सभाको आजको बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको ‘रसुवा बाढी विशेष प्रस्ताव’ बैठकले सर्वसम्मतिले पारित गरेको हो।विशेष प्रस्तावमार्फत बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, वैज्ञानिक ढङ्गले शव व्यवस्थापन गर्न तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न सरकारलाई आग्रह गरिएको छ।

त्यस्तै, विपद्को सामना गर्न स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्दै विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्का लागि आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन पनि सभाले आग्रह गरेको छ।

अध्यक्ष दाहालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको समयमा सबै पक्ष एकजुट भएर उद्धार तथा राहतमा जुट्न आग्रह गर्नुभयो।

यसअघि बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयास आवश्यक रहेको बताउँदै भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो।सांसदहरूले विपद्को पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्वचेतावनीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा विपद् उत्थानशील पूर्वाधार निर्माणमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो।

बाढी, पहिरोलगायत विपद्को पूर्वचेतावनीलाई बेवास्ता नगरी तत्काल आवश्यक कदम चाल्न र प्रभावित नागरिकलाई पारदर्शी तथा एकद्वार प्रणालीमार्फत तत्काल राहत उपलब्ध गराउन पनि सांसदहरूले माग गर्नुभयो।

त्यस्तै, देशका जोखिमपूर्ण हिमतालको तत्काल अध्ययन गरी सम्भावित जोखिम न्यूनीकरणका लागि योजना बनाउन तथा विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिइएको छ।

बैठकमा राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ २३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्