त्रिशूली वारिपारि आवागमन सहज बनाउन वैकल्पिक मार्ग र तुइन निर्माणलाई तीव्रता
नुवाकोट,भदौ १६— बाढी तथा पहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि नुवाकोट र रसुवामा आवागमन सहज बनाउन वैकल्पिक मार्ग, तुइन तथा बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेश सभा सदस्य राधिका तामाङ, रामप्रसाद ढुंगाना, रमेशकुमार महत तथा रसुवा, नुवाकोट, धादिङ र कालिकोटका जिल्ला समन्वय समिति प्रमुखहरूको विशेष उपस्थितिमा सम्पन्न बैठकले प्रभावित क्षेत्रमा सडक सम्पर्क पुनःस्थापना तथा उद्धार र राहतका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो।
बैठकमा त्रिशूली नदी वारिपारि आवागमन जोड्न प्रदेश सरकारले खुलाएका वैकल्पिक बाटोको समीक्षा गर्दै थप खोल्नुपर्ने सडकको प्राथमिकता निर्धारण, क्षतिको विवरण संकलन, राहत तथा पुनःस्थापना, सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार र बाढीमा पुरिएका शव उत्खनन गर्ने विषयमा छलफल भएको जनाइएको छ।भेटिएका शवको व्यवस्थापन तथा सनाखतको कामलाई अझ चुस्त र प्रभावकारी बनाउने विषयमा पनि बैठकमा विशेष ध्यान दिइएको थियो।
यसैबीच, बागमती प्रदेश सरकारको विशेष पहल र सहयोगमा विदुर नगरपालिका–१ स्थित इन्द्रेणीघाटमा तुइन सञ्चालनमा आएको छ। देविघाट बजारमा पनि आजै अर्को तुइन निर्माणको काम सुरु गरिएको जानकारी दिइएको छ।
देविघाटमा निर्माण हुने तुइन सञ्चालनमा आएपछि त्रिशूली अस्पतालसहित नदीपारिका गाउँमा आवतजावत गर्न स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, सम्भावित स्थानमा बेलिब्रिज राख्न सकिने ठाउँको सर्वेक्षण भइरहेको र उपयुक्त स्थान पहिचान भएपछि तत्काल निर्माण कार्य अघि बढाइने जनाइएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलका कारण नागरिकको आवागमन प्रभावित भइरहेका बेला वैकल्पिक सम्पर्क मार्ग, तुइन र बेलिब्रिज निर्माणलाई तीव्रता दिन लागिएको हो।
यी कामलाई समयमै अघि बढाउन दिनरात नभनी खटिरहेको पूर्वाधार विकास कार्यालयको टोलीलाई प्रदेश सरकारले विशेष धन्यवादसमेत दिएको छ।

