बाढीपीडितलाई एकद्वार प्रणालीमार्फत राहत, २३० संघसंस्थाबाट सहयोग
नुवाकोट, भदौ १७ । नुवाकोटमा बाढी तथा पहिरो प्रभावितलाई एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको छ। हालसम्म दुई सय ३० भन्दा बढी संघसंस्थाले जिल्लाका बाढीपीडितका लागि राहत उपलब्ध गराएका छन्।
गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधि सम्मिलित संयन्त्रमार्फत राहत संकलन तथा वितरणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार जिल्ला समन्वय समितिको हल, मैथली ब्यारेक र विदुर नगरपालिकाबाट राहत सामग्री संकलन तथा वितरण भइरहेको छ। हालसम्म दुई सय ३० वटा संघसंस्थामार्फत राहत सामग्री संकलन भएको प्रशासनले जनाएको छ।
संकलित राहत जिल्लाका एक सय ३१ स्थानमा वितरण गरिएको छ। दुर्गम तथा सडक पहुँचबाट प्रभावित क्षेत्रमा संकलित राहत सामग्री ३० भन्दा बढी स्थानमा हेलिकप्टरमार्फत पुर्याएर प्रभावितलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
प्रशासनले राहत वितरणलाई व्यवस्थित, पारदर्शी र आवश्यकताका आधारमा अघि बढाउन एकद्वार प्रणाली लागू गरेको जनाएको छ।

