बाढीपहिरो प्रभावित क्षेत्रमा बेलकोटगढीको सक्रियता, सडक खुलाउनेदेखि राहत र उपचारसम्म
नुवाकोट, भदौ १७ । भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा बेलकोटगढी नगरपालिका सक्रिय रूपमा जुटेको जनाएको छ।
नगरपालिकाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको हो।
विपदको सुरुदेखि नै नगर प्रमुख जगत गुरुङ, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सरोकारवालाको टोली प्रभावित क्षेत्रमा निरन्तर खटिएको नगरपालिकाले जनाएको छ। स्थानीय सरकारसँग उपलब्ध सीमित स्रोत, साधन र क्षमताको अधिकतम प्रयोग गर्दै प्रभावित नागरिकलाई राहत तथा आवश्यक सेवा उपलब्ध गराउने काम भइरहेको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकखण्डअन्तर्गत वडा नं. ७ हुँदै वडा नं. ८ को ठूलाखोला, कासीटारलगायतका स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ। सडकमा थुप्रिएको पहिरो तथा अन्य अवरोध हटाएर यातायात सञ्जाल पुनः जोड्ने प्रयास सफलतातर्फ अघि बढेको नगरपालिकाले जनाएको छ। आवतजावत सहज बनाउन वैकल्पिक सडकको पहिचान तथा व्यवस्थापनको कामसमेत भइरहेको छ।
बाढीपहिरोका कारण खानेपानीका स्रोत नष्ट भएपछि समस्यामा परेका विभिन्न घरधुरीको खानेपानी समस्या समाधान गरिएको छ। जोखिममा रहेका नागरिकलाई स्थानीय विद्यालयमा सुरक्षित आश्रयको व्यवस्था गरी राहत सामग्री वितरण भइरहेको नगरपालिकाले जनाएको छ।
त्यस्तै, बिरामीका लागि औषधि, प्राथमिक स्वास्थ्य सेवा तथा आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। स्वास्थ्य टोलीले प्रभावित नागरिकलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाको भनाइ छ।
विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्थानीय युवा, स्वयंसेवक, संघसंस्था तथा सहयोगी सबैप्रति नगरपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
नगरपालिकाले सडक सरसफाइ, बाँकी रहेका नागरिकको उद्धार, राहत वितरण तथा स्वास्थ्य उपचारका कामलाई अझ तीव्र र प्रभावकारी बनाउँदै निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
संकटको यस घडीमा धैर्य धारण गरी सुरक्षित रहन प्रभावित नागरिकलाई आग्रह गर्दै नगरपालिकाले विपद्को सामना सबै मिलेर गर्ने जनाएको छ।

