भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि मंगला अमात्यले दिइन् एक करोड आठ लाख
काठमाडौँ, भदौ १७ । काठमाडौँको छाउनी निवासी मंगला अमात्यले भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड आठ लाख रुपैयाँ सहयोग गरेकी छन्।
अमात्यका प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर एक करोड आठ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते अकस्मात आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् भने एक हजारभन्दा बढी शव फेला परिसकेको जनाइएको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ। विपद्का कारण हजारौँ नागरिक घरबारविहीन भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी छ।

