भोटेकोशी बाढीको आठौं दिन : नुवाकोटमा दुई हजारभन्दा बढी घर बगेको दाबी, पुनःस्थापनाको माग चर्कियो
विदुर, भदौ १७ — भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको छ। सरकारी निकायले करिब आठ सय घर बगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरे पनि स्थानीयवासीले भने जिल्लामा दुई हजारभन्दा बढी घर तथा टहरा बाढीले बगाएको बताएका छन्।
बाढी आएको आठौं दिनसम्म पनि नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी छ। बाढीबाट घरबारविहीन भएका पीडितहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्।
विदुर नगरपालिका–१ ढुंगे बजारकी बाढीपीडित विष्णुमाया डंगोलले घर बगेपछि वर्षाको समयमा बालबालिकालाई चिसोबाट जोगाउनसमेत कठिन भएको बताइन्। अर्का पीडित सुनील डंगोलले राहतसँगै सरकारले पुनःस्थापनाको काम अघि बढाउनुपर्ने माग गरे। राजु शाक्यले पुनःस्थापना गरिए बालबालिकालाई सुरक्षित राख्न सहज हुने बताए।
ढुंगेकी अर्की पीडित शान्ति लामिछानेले भागेर ज्यान जोगाए पनि सुरक्षित बस्ने ठाउँको अभाव रहेको बताइन्। उनले विस्थापितको पहिचान गरी सरकारले तत्काल पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताइन्।
नुवाकोटको ढुंगेमा मात्रै करिब दुई सय घर बगेका वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्रिशूली नदीपारिको त्रिशूली बजारमा तीन सय ५० भन्दा बढी घर भत्किएका तथा पुरिएका छन्।
१९ स्थानमा दुई हजार ६ सय ५३ जना आश्रित
बाढीपीडितका लागि नुवाकोटका विभिन्न १९ स्थानमा आश्रय केन्द्र सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ती केन्द्रमा दुई हजार ६ सय ५३ जना आश्रित छन्।
कोलोनी कभर्ड हल र भैरुम माध्यमिक विद्यालयमा पाँच सय जना, रातमाटेको महादेव माध्यमिक विद्यालयमा दुई सय ७२ जना तथा किस्पाङको त्रिभुवन माध्यमिक विद्यालयमा दुई सय जना राखिएका छन्। महादेव क्याम्पस महादेवफाँटमा २६ जना र बेलकोटगढीको जनसेवा विद्यालयमा ३५ जना रहेका छन्।
प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार दुई स्थानमा स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ।
३० स्थानलाई आधार बनाएर खोजी जारी
बाढीमा परेर बेपत्ता तथा मृत्यु भएकाहरूको खोजीका लागि कोल्पु खोलादेखि मैलुङ शान्तिबजारसम्म त्रिशूली नदीको वारिपारि गरी ३० स्थानलाई आधार बनाएर सुरक्षा निकायले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।
उनका अनुसार हालसम्म एक सय ५१ जनाको शव संकलन गरिएको छ। बाढीबाट दुई सय ५४ जना विदेशी नागरिकसहित तीन हजार एक सय ६२ जनाको उद्धार भइसकेको छ भने एक सय ७४ जना विदेशी नागरिकसहित दुई हजार दुई सय ५१ जना अझै बेपत्ता छन्।
जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार तीव्र
त्रिशूली–३ ए जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र विद्युत् कर्मचारीसहित ९० जनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ। आयोजनाको ‘क्राउन हेड’ रहेको स्थान पत्ता लगाएर करिब १० मिटर गहिरो हिलो–लेदो हटाई ड्रिलिङ गरेर इनलेटमा प्वाल पारिएको छ। उक्त प्वालबाट अत्यधिक पानी आएपछि अर्को स्थानबाट प्वाल पार्ने र फसेकाहरूको खोजी गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
त्रिशूली–३ बी जलविद्युत आयोजनामा हेलिकप्टरमार्फत एक्स्काभेटर पुर्याएर नेपाली सेना, सशस्त्र प्रहरी र विद्युत् कर्मचारीसहित ४७ जनाको टोली खोज तथा उद्धारमा परिचालित छ। उद्धारका लागि पाँच सयभन्दा बढी पटक हेलिकप्टर उडान भइसकेको प्रशासनले जनाएको छ।
नेपाली सेनाको अधिकृत तहको नेतृत्व तथा समन्वयमा छिमेकी राष्ट्रबाट आएको विज्ञ टोलीले अपर त्रिशूली–१ को टनेल हेड हाकुतर्फ करिब तीन सय मिटर र टनेल टेल मैलुङतर्फ करिब दुई सय ५० मिटरसम्म खोजी गरेको छ। ती सुरुङमा तीनदेखि चार मिटर बाक्लो दलदलयुक्त हिलो रहेको जनाइएको छ।
चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना, मित्रराष्ट्रका विज्ञ टोली र प्राविधिक टोलीले करिब ५५ मिटरसम्म पुगेर खोजी गरिरहेका छन्। रसुवागढी जलविद्युत आयोजनामा करिब दुई सय मिटर तथा लाङटाङ क्षेत्रमा करिब एक सय ५० मिटरसम्म खोज तथा उद्धार गरिएको प्रशासनले जनाएको छ।
नुवाकोटका विभिन्न सात स्थानमा नेपाली सेनाको स्थल टोलीमार्फत समेत खोज तथा उद्धार भइरहेको छ।
तीन मुख्य सडक सञ्चालनमा ल्याउने प्रयास
बाढीका कारण अवरुद्ध त्रिदेशीय सडकमार्गअन्तर्गत गल्छी–देवीघाट सडक खण्डको ठूलो खोला पुल मर्मत तथा लेदो हटाउने काम भइरहेको छ। तादी खोलातर्फ अवरुद्ध बेली ब्रिज जोड्न सर्वेक्षण सुरु गरिएको प्रशासनले जनाएको छ।
ढुंगे बजारदेखि तिरतिरेभीर क्षेत्रसम्म सडक सञ्चालनमा आए पनि त्यसपछि थप काम भइरहेको छ। वेत्रावती पुग्न करिब दुई दशमलव आठ किलोमिटर सडक मर्मत गर्न बाँकी छ। सो खण्डमा करिब तीन सय मिटर सडक पूर्ण रूपमा कटान भएर नदी बगेकाले वैकल्पिक सडक पहिचान भइरहेको छ।
११ वैकल्पिक सडकबाट आवागमन
मुख्य सडक अवरुद्ध भएपछि बाहुनेबेसी–लाच्याङ–पर्च्याङ–धुन्चे सडकमा साना सवारी सञ्चालनमा ल्याइएको छ। विदुर–चोकदे–बोहोरेभञ्ज्याङ–लाच्याङ–जिरोकिलो–धुन्चे सडक पनि सञ्चालनमा छ।
ढिकुरे–फेदीबेसी–चाकदे तथा बोहोरेभञ्ज्याङ–ढुङ्गेश्वारा हुँदै वेत्रावती–रसुवा जाने सडकमा साना सवारी सञ्चालन भइरहेका छन्। चोकदे–बोहोरेभञ्ज्याङ–दण्डेश्वारा–ढुङ्गेश्वारा–पाटीखर्क–भोर्ले सडकमा ठूला सवारी सञ्चालनका लागि पहल भइरहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए।
विदुर नगरपालिका र लिखु गाउँपालिकाबाट उपलब्ध गराइएको भारी उपकरण प्रयोग गरी विदुर–१ ढुंगे तथा विदुर–११ थापाटार–वेत्रावती सडक सञ्चालनका लागि काम भइरहेको छ।
कोलोनी–बुधसिंहघाट सडकसमेत सञ्चालनमा ल्याइएको छ। गल्छी–कोशीखोला–कोलडाँडा–तारकेश्वर–कुमलटार–लबडाँडा–सिरखाली–बुनीबेसी–कालीखोला–माझीगाउँ हुँदै कोलोनी पुग्ने वैकल्पिक मार्ग पनि सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ।
बेलकोटगढी–निरञ्जना सडक सञ्चालनमा आएको छ भने विदुर–५ देवीघाट सडक खण्डमा सफाइपछि दुईतर्फी आवागमन भइरहेको छ। विदुर–पिपलटार–धमले–निरञ्जना–बाघखोर–देउराली–दुईपीपल–कोल्पुटार हुँदै गल्छी जाने सडकलाई पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ।
खानेपानी आपूर्तिमा पनि समस्या
बाढीले खानेपानीका संरचना तहसनहस बनाएपछि देवीघाटमा बोरिङबाट जेनेरेटर प्रयोग गरी खानेपानीको व्यवस्था गरिएको छ।विदुरका विभिन्न स्थानमा ट्याङ्करमार्फत खानेपानी वितरण भइरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।
बाढीको आठौं दिनसम्म उद्धार र खोजी जारी रहे पनि घरबार गुमाएका पीडितका लागि तत्काल राहतसँगै सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग स्थानीयस्तरमा बढ्दै गएको छ।

