बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
पश्चिम नवलपरासी, भदौ १७ । भोटेकोशी–त्रिशूली हुँदै नारायणी नदीमा बगेका बाढीपीडितका नौ शव भारतमा फेला परेपछि नेपाल ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५ गते एक र १६ गते चार गरी नौ शव महेशपुर नाकाबाट नेपाल ल्याइएको हो। भारतका महाराजगन्ज र पश्चिम चम्पारणका सुरक्षा निकायसँग समन्वय गरी सीमावर्ती क्षेत्रमा शव खोजी तीव्र पारिएको छ।
भारतबाट ल्याइएका शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ। पश्चिम नवलपरासीमा मात्रै हालसम्म एक सय ८० शव फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तीमध्ये ९८ शवबाट डिएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको छ।
ठूलो संख्यामा शव फेला परेपछि पहिचान तथा व्यवस्थापनमा चुनौती देखिएको छ भने अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिन थालेपछि शवको नमुना सङ्कलन र व्यवस्थापनलाई तीव्र पारिएको छ।

