भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन
चितवन, भदौ १७ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिङ्ग पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सनाखत हुन नसकेका शवलाई भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा अस्थायी रूपमा व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म १२ शवको सनाखत भएको छ भने एउटा शव व्यवस्थापन गर्न बाँकी छ। व्यवस्थापन गरिएका शवमध्ये १०७ पुरुष, ७३ महिला, १५ बालिका, ११ बालक र १२९ वटा पहिचान नखुलेका शव छन्।
शवको पहिचानका लागि डिएनए नमूना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। हराइरहेका व्यक्तिका आफन्तबाट समेत डिएनए नमूना सङ्कलन सुरु गरिएको छ। पहिलो तहका आफन्त बुबा, आमा, छोरा वा छोरीको नमूनासँग शवबाट सङ्कलन गरिएको दाँत वा हड्डीको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको हो।
चितवनमा मङ्गलबारदेखि भरतपुर–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा आफन्तको डिएनए नमूना सङ्कलन सुरु गरिएको छ। चितवनबाहिर रहेका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट तथा विदेशमा रहेका आफन्तले नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत नमूना उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कम्तीमा १२ हप्ताभित्र डिएनए परीक्षण तथा म्याचिङ प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ। नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापनमा परिचालित छन्।
यसैबीच, देवघाटस्थित अस्थायी शव व्यवस्थापनस्थलमा मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। विभिन्न समुदायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणले दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उक्त स्थान अन्तिम संस्कार नभई पहिचान नखुलेका शवको अस्थायी व्यवस्थापनका लागि प्रयोग गरिएको जनाइएको छ।

