भोटेकोशी बाढी : मृतकको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ बेपत्ता



काठमाडौं, भदौ १७ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म देशका विभिन्न स्थानमा गरी १ हजार १ सय २७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १ सय ५५, धादिङमा ५९, चितवनमा ३ सय ४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९० र भारतमा ९ वटा रहेका छन्।

फेला परेका शवमध्ये १ हजार १ सय १३ शवको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका ९ सय ११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ भने अझै ४ हजार ८ सय ५८ जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी गर्ने तथा बाढी र पहिरोका कारण अवरुद्ध सडक तथा बाटो खुलाउने कामलाई समेत निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्