भोटेकोशी बाढी जलवायु परिवर्तनकै असर, अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आह्वान
काठमाडौं, भदौ १७ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले अपूरणीय क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराइएको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा संसदलाई जानकारी गराउनुभएको हो। उहाँले बाढीबाट भएको क्षतिको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि सरकारले आह्वान गरिसकेको बताउनुभयो। उद्धार तथा राहत व्यवस्थापनको काम निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले सरकारले आफ्नो तर्फबाट सबै किसिमका प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
विपद् र विपद्पछिको अवस्थाबारे प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य र समन्वय भइरहेको बताउँदै प्रधानमन्त्री शाहले विपद्बाट माथि उठ्न सबैको हातेमालो र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले तत्काल गर्न सकिने काम सरकारले गरिसकेको र अब गर्नुपर्ने बाँकी कामका लागि पनि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो।
भोटेकोशी बाढीपछि सुरुङमा भइरहेको उद्धारमा ढिलाइ हुनुको कारणबारे पनि प्रधानमन्त्री शाहले प्रस्ट पार्नुभयो। भौगोलिक अवस्था तथा सुरुङको संरचनाका कारण एउटै सुरुङमा एक वा दुईभन्दा बढी स्काभेटर एकैपटक परिचालन गर्न नसकिने भएकाले उद्धार कार्यमा समय लागेको उहाँले बताउनुभयो।
उद्धारमा संलग्न सबै पक्षले दिलोज्यान दिएर काम गरिरहेको भन्दै उहाँले उनीहरूको प्रयासलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकार सबै सङ्घसंस्था, सरोकारवाला निकाय, समाजसेवी तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताउनुभयो।

