भोटेकोशी बाढीप्रति संसद्को शोक प्रस्ताव, खोज–उद्धार तीव्र बनाउन सरकारलाई निर्देशन
काठमाडौँ, भदौ १७ । प्रतिनिधिसभाको आजको बैठकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ।विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभयो।
सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति व्यहोर्दै आएको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनुपर्ने बताउनुभयो।
बैठकमा सांसदहरूले सरकारको विपद् व्यवस्थापन तथा खोज–उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले सङ्कटका बेला भएका कमजोरी स्वीकार गर्दै नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले आवश्यकताअनुसार विश्वविद्यालयका अनुसन्धानकर्ता, निजी क्षेत्र, नागरिक समाज तथा मित्रराष्ट्रका विशेषज्ञ र प्रविधि तत्काल परिचालन गर्नुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइ गम्भीर र अमानवीय कमजोरी भएको बताउनुभयो। विपद्मा आफूहरू सरकारको साथमा रहे पनि सरकारका गलत कामलाई समर्थन गर्न नसकिने उहाँको भनाइ थियो।
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले सरकारका योजना र प्रगतिबारे संसद्लाई निरन्तर जानकारी गराउन माग गर्दै सबै राजनीतिक दल, नागरिक समाज र विज्ञ सम्मिलित सर्वपक्षीय संयन्त्र बनाएर विपद्को सामना गर्न सुझाव दिनुभयो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र जनपरिचालन आवश्यक रहेको बताउनुभयो। उहाँले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार तथा घाइतेको उपचारलाई प्राथमिकता दिन माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले विपद्को समयमा ज्यानको परवाह नगरी उद्धारमा खटिएका सुरक्षाकर्मीको सेवा–सुविधा वृद्धि गर्न सरकारसँग आग्रह गर्नुभयो।
प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।

