छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौं, भदौ १७ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज राति बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने देशका अन्य भूभागमा सामान्यतया बादल लागेको अवस्था छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बिहीबार र शुक्रबार पनि देशभर सामान्यतया बादल लाग्नेछ। ती दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

