बाढीपीडित भेट्न नुवाकोट पुगे बलिउड अभिनेता सोनू सूद, आफैंले पस्किए खाना



नुवाकोट,भदौ १७। बलिउड अभिनेता सोनू सूदले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। बुधबार बिहान नुवाकोट पुगेका सूदले देवीघाटस्थित आयुर्वेद अस्पतालमा सञ्चालित होल्डिङ सेन्टरमा पुगेर बाढीपीडितलाई खाद्यान्नलगायत विभिन्न राहत सामग्री हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता सूदले जनाएका छन्।

सूदले लायन्स क्लबका वरिष्ठ पदाधिकारी तथा आफ्नो टोलीसहित नुवाकोटको ढुंगे क्षेत्रको समेत अवलोकन गरेका थिए। त्यस क्रममा उनले केही बाढीपीडितसँग प्रत्यक्ष भेटेर उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए।

सूद च्यारिटी फाउन्डेसन र खाल्सा एडले राहत सामग्री उपलब्ध गराएका हुन्। नेपाल भ्रमणको व्यवस्थापन मल्टिपल डिष्ट्रिक्ट ३२५ ले गरेको थियो।

डिष्ट्रिक्ट ३२५ आईले सञ्चालन गरेको होल्डिङ सेल्टरमा पुगेका सूदले आश्रय लिएर बसेका बाढीपीडितलाई आफैंले खाना पस्किएका थिए। डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अनुज श्रेष्ठका अनुसार सूद बिहान साढे ८ बजे नुवाकोट पुगेका थिए भने साढे १० बजे फर्किएका थिए। उनी बुधबार नै भारत फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्