भोटेकोशी बाढीमा बेपत्ताको आशा टरेपछि पशुपतिमा कुशको शव बनाएर अन्त्येष्टि



काठमाडौँ,भदौ १७। रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त जीवित भेटिने आशा टरेपछि परिवारजनले कुशबाट शवको प्रतीक बनाएर अन्तिम संस्कार गरेका छन् ।

बाढी गएको लामो समय बितिसक्दा पनि बेपत्ता आफन्तको अवस्था पत्ता नलागेपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर पशुपतिस्थित आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको हो । बुधबार आर्यघाटमा दर्जनौँ परिवार बेपत्ता आफन्तका लागि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कारमा सहभागी भएका थिए ।एकैपटक ठूलो सङ्ख्यामा परिवारजन भेला भएपछि आर्यघाटमा दिनभरजसो बाक्लो भीड लागेको थियो ।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार बुधबार मात्रै कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका प्रतीकात्मक शवको सामूहिक अन्त्येष्टि गरिएको थियो ।उनका अनुसार कुशका शवको छुट्टै अभिलेख भने राख्ने गरिएको छैन ।

बाढीमा आफन्त बेपत्ता भएपछि लामो समयसम्म खोजी र प्रतीक्षामा बसेका परिवारले अन्ततः जीवित भेटिने सम्भावना न्यून देखिएपछि धार्मिक संस्कार पूरा गरेका हुन् । वास्तविक शव फेला नपरे पनि प्रतीकात्मक शवको अन्त्येष्टिमार्फत उनीहरूले आफन्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नुवाकोटका बबिन रिजालले भोटेकोशी बाढीमा आफ्ना बुवा नाथ रिजाल र आमा विनिता रिजाल बेपत्ता भएको बताउनुभयो । लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नआएपछि बुधबार पशुपति आर्यघाटमा कुशबाट शवको प्रतीक बनाएर अन्तिम संस्कार गरिएको उहाँले बताउनुभयो ।

“बाढीमा परी मेरा आमा र बुवा बेपत्ता हुनुभएको छ । अब जीवितै भेटिने आशा मरिसकेकाले आज कुशका शव बनाएर पशुपतिमा अन्त्येष्टि गरेका छौँ”, उहाँले भन्नुभयो ।

आफन्तको वास्तविक शवसमेत देख्न नपाएका परिवारजनका लागि प्रतीकात्मक अन्त्येष्टि पीडाबीचको अन्तिम श्रद्धाञ्जली बनेको छ । आर्यघाटमा कुशबाट तयार पारिएका शव जलाउँदा बेपत्ताका परिवारजन भावविह्वल बनेका थिए ।

भोटेकोशीमा आएको अचानकको ठूलो बाढीले रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । बाढीपछि ठूलो सङ्ख्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी छ ।तर लामो समयसम्म बेपत्ता आफन्तको कुनै खबर नआएपछि केही परिवारले जीवित उद्धार हुने आशा त्याग्न थालेका छन् । त्यससँगै हिन्दू परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।

पशुपति आर्यघाटमा भएको सामूहिक अन्त्येष्टिले भोटेकोशी बाढीले निम्त्याएको मानवीय पीडाको गहिराइसमेत उजागर गरेको छ ।आफन्तको शवसमेत प्राप्त गर्न नसकेका परिवारजनले कुशको प्रतीकात्मक शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै वर्षौँसम्म सम्झनामा रहने पीडादायी अध्यायलाई धार्मिक संस्कारमार्फत टुङ्ग्याउने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्