बाढीपीडितको अवस्था बुझ्न सांसद लामिछाने सेल्टरमा



विदुर,भदौ १८ । प्रतिनिधि सभा सदस्य नुवाकोट क्षेत्र नं. २ का सांसद डा. अच्युतम लामिछानेले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितसँग भेटघाट गरेका छन्।

सांसद लामिछानेले बुधबार तारकेश्वर गाउँपालिकाका विभिन्न घटनास्थल हुँदै विदुर नगरपालिका–३, विदुर–१ लगायत त्रिशूलीदेखि बेत्रावतीसम्म रहेका सम्पूर्ण सेल्टरमा पुगेर बाढीपीडितसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गरेका हुन्।

भेटका क्रममा उनले बाढीपीडितको अवस्था, उनीहरूले भोगिरहेका समस्या र तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका थिए।पीडितहरूको आँखामा देखिएको पीडा, मनमा रहेको त्रास र भोगिरहेको कठिनाइलाई नजिकबाट महसुस गरेको उनले बताए।

लामिछानेले यो भ्रमण अवस्था बुझ्ने यात्रामा मात्र सीमित नभई जनताको दुःखमा सँगै उभिने, उनीहरूको आवाज सुन्ने र आवश्यक सहयोगका लागि निरन्तर पहल गर्ने आफ्नो जिम्मेवारी भएको बताएका छन्।

भदौ १० को विपद्को कठिन समयमा कोही पनि आफूलाई एक्लो महसुस गर्न नहुने भन्दै उनले आफू जनताको साथमा र जनताकै बीचमा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्