शिक्षा ऐन अन्तिम चरणमा, शिक्षक महासङ्घसँग मन्त्री पोखरेलको छलफल



काठमाडौँ,भदौ १८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन तर्जुमा तथा शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालका विषयमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासङ्घले विगतदेखि उठाउँदै आएका विषयलाई दुईपक्षीय संवाद र सहमतिमार्फत समाधान गर्ने विषयमा छलफल भएको हो।छलफलमा हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन आवश्यक उपायबारे समेत कुराकानी भएको थियो।

सो अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा प्राप्त रायसुझावलाई ऐनमा समेटिने बताउनुभयो। नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने उहाँको भनाइ थियो।

विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई स्वदेशमै रोक्न गुणस्तरीय शिक्षा र पर्याप्त अवसरको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समय–समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने उहाँले बताउनुभयो। मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र महासङ्घबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाएका विषयलाई प्रक्रियागत रूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने बताउनुभयो। महासङ्घका अध्यक्ष सुवेदीले आफूहरूले उठाउँदै आएका सवाल संवादमार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो। शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने बताउँदै उहाँले मन्त्रालयसँगको संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकिने उल्लेख गर्नुभयो।

छलफलमा सहभागी अन्य शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालयसँगको संवाद र सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्