भोटेकोशी हिमबाढीमा जलवायु न्याय माग्दै नेपालद्वारा पहिलो आपत्कालीन अपिल



काठमाडौँ, भदौ १८ । नेपालले भोटेकोशी हिमबाढीबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै जलवायु न्यायका लागि पहिलोपटक अन्तर्राष्ट्रिय कोषमा आपत्कालीन अपिल गरेको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि विनाशकारी विपत् भोग्नुपरेको भन्दै क्षति तथा नोक्सानी सम्बोधनका लागि स्थापित कोषबाट तत्काल सहयोग पाउनुपर्ने बताउनुभयो ।

भदौ १० गते लाङटाङ लिरुङ क्षेत्रबाट आएको हिमबाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको थियो । जलवायु विज्ञहरूले हिमालमा बढ्दो तापक्रमका कारण हिमढिक्का खसेर बाढी आएको विश्लेषण गरेका छन् ।

नेपालले यसअघि सोलुखुम्बु, हुम्ला, मनाङ र मेलम्चीलगायतका हिमबाढीजन्य विपत्समेत भोग्दै आएको छ । कोषमा नेपालको अपिलपछि क्षतिपूर्ति तथा सहयोगबारे उच्चस्तरीय छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्