नागरिक बचाउन माइकिङ गर्दै दौडिएका प्रहरी बाढीमा विलय, २५ अझै बेपत्ता
काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीमा नागरिकलाई सुरक्षित स्थानतर्फ जान माइकिङ गर्दै गरेका तीन प्रहरीको ज्यान गएको छ भने २५ जना अझै सम्पर्कविहीन छन् ।
बाढीमा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको मृत्यु भएको हो । सोही टोलीका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भने १० सेकेन्डको फरकले भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
भोटेकोशी बाढीमा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन भएकामा तीन जनाको शव भेटिएको हो । नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।प्रहरीले बेपत्ता सुरक्षाकर्मीको खोजीका लागि छुट्टै टोली परिचालन गरेको छ । यसैबीच बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

