भोटेकोशी बाढीमा हजारौँ पशुचौपाया र सयौँ हेक्टर खेती नष्ट



काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मात्रामा पशुधन तथा कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ ।

प्रारम्भिक विवरणअनुसार नुवाकोटमा मात्रै ५०० गाईगोरु, ७०७ भैँसी तथा राँगा, दुई हजार बाख्रा–भेडा, एक हजार ५०० बङ्गुर र एक लाख २० हजार ९१३ कुखुरा नष्ट भएका छन् । रसुवामा पनि सयौँ पशु हराएको अनुमान गरिएको छ ।

बाढीले विदुर, बेलकोटगढी, उत्तरगया, तारकेश्वर र किस्पाङ क्षेत्रमा २७६ हेक्टरभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ । विदुरमा मात्रै १६५ हेक्टर धानबाली नष्ट भएको प्रारम्भिक मूल्याङ्कन छ ।

त्रिशूलीस्थित मत्स्य अनुसन्धान केन्द्रका सयवटै पोखरीका माछा बगेका छन् भने २५ हजारभन्दा बढी माछा तथा भुरा नष्ट भएका छन् । बाढीपछि मृत पशुबाट रोग फैलिन सक्ने जोखिम रहेकाले पशुसेवा विभागले प्रभावित जिल्लामा उद्धार, उपचार, शव व्यवस्थापन र रोग नियन्त्रणका लागि विशेष टोली परिचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्