बाढी प्रभावित क्षेत्रमा नौ हजार तीन सयभन्दा बढी सेना परिचालन
काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।सेनाका अनुसार बुधबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत प्रभावित क्षेत्रबाट छ जनाको उद्धार गरिएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी गरिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
त्रिशूली–१ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा डोजर प्रयोग गरी रातभर सुरुङको बाहिरी भागमा भरिएको लेदो र माटो हटाउने काम गरेको छ। राति करिब २ बजे सुरुङको प्वाल ठूलो बनाउन विस्फोट गराई सफा गर्ने कार्य भइरहेको सेनाले जनाएको छ।
त्रिशूली–२ आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी त्यहाँ पुग्ने बाटो निर्माण गरिरहेको छ। डोजरमार्फत बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ।
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा
स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउँदै आवश्यक उद्धार तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ। चिकित्सकसहितको टोलीले पैदल गस्तीमार्फत स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको सेनाले जनाएको छ।
त्रिशूली नदीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा पनि खोज तथा उद्धार कार्य भइरहेको छ। नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुबेँसी क्षेत्रमा समेत खोज तथा उद्धार जारी राखेको छ।
चिकित्सकहरूले नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित सङ्क्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।
यसैबीच, प्रधानसेनापति महारथी अशोकराज सिग्देलले नेपाली सेनालगायत सम्बद्ध निकायले संयुक्त रूपमा सञ्चालन गरिरहेका खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गर्नुभएको छ। उहाँले त्रिशूली नदी, सुरुङलगायत प्रभावित क्षेत्रको अवलोकन गर्दै सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ।प्रधानसेनापति सिग्देलले नेपाली सेनाका सकल दर्जालाई उच्च मनोबलका साथ उद्धार तथा राहत कार्यमा निरन्तर खटिनसमेत निर्देशन दिनुभएको छ।

