भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नौ हजारभन्दा बढी सेना परिचालन, टनेलभित्र खोजी तीव्र
काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार आज बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट छ जनाको उद्धार गरिएको छ।
लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब एक सय ५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ।
त्रिशूली–३ ए आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाइरहेको छ। राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउनमा विस्फोट गराई सफा गर्ने कार्यसमेत गरिएको छ।
त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँ पुग्ने बाटो निर्माण तथा माटो हटाउने काम गरिरहेको छ।
सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयवासीलाई सुरक्षा प्रदान गर्नुका साथै आवश्यक उद्धार र स्वास्थ्य सेवा दिइरहेको जनाएको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा पनि खोज तथा उद्धार जारी छ।
त्यस्तै, नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुवेशी क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा चिकित्सक अधिकृतहरूले सम्भावित सङ्क्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।
यसैबीच प्रधान सेनापति महारथी अशोकराज सिग्देलले त्रिशूली तथा टनेललगायतका प्रभावित क्षेत्रमा पुगेर संयुक्त खोज तथा उद्धार कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य कायम गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ।

