बाढी पीडितलाई प्याब्सन नुवाकोटको साथ : अनाथ विद्यार्थीको अभिभावकत्वदेखि विद्यालय पुनःनिर्माणसम्म
नुवाकोट, भदौ १८ । भोटेकोशी बाढीले नुवाकोटमा घर, परिवार र शैक्षिक संरचनामा ठूलो क्षति पुर्याएपछि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) नुवाकोटले प्रभावित विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयका लागि राहत तथा पुनःस्थापनाको पहल थालेको छ।
प्याब्सन नुवाकोटको बिहीबार बसेको पूर्ण बैठकले बाढीका कारण आमा–बुबा दुवै गुमाएका तथा अभिभावकविहीन भएका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हो । विपत्तिले अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन प्याब्सनले जिम्मेवारी लिने भएको हो।
त्यस्तै, बाढीका कारण घरबारविहीन भएका विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री निःशुल्क उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। घर नै गुमेपछि पढाइसमेत प्रभावित भएका बालबालिकालाई शैक्षिक सामग्रीको अभाव हुन नदिने प्याब्सनको योजना छ।
बाढीका कारण घरबारविहीन भएका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा तत्काल राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। पूर्णरूपमा क्षति भएका सदस्य विद्यालयको पुनःस्थापनामा पनि प्याब्सनले सहयोग गर्ने जनाएको छ।
बाढीपछि बेपत्ता भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय सञ्चालकको खोजी कार्यलाई प्राथमिकतामा राख्दै खोजीपछि बस्ने बैठकबाट उनीहरूका सम्बन्धमा थप ठोस निर्णय गरिने प्याब्सन नुवाकोटले जनाएको छ।
पीडामा रहेका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई तत्काल राहत उपलब्ध गराउन प्याब्सन केन्द्रको विपद् व्यवस्थापन विभागबाट तीन लाख रुपैयाँ र प्याब्सन बागमती प्रदेशबाट दुई लाख रुपैयाँ प्राप्त भइसकेको छ। पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्याब्सन केन्द्र, प्रदेश र जिल्ला तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
भोटेकोशी बाढीले नुवाकोटका दुई निजी विद्यालयको भौतिक संरचना पूर्णरूपमा क्षति भएको प्याब्सन जिल्ला उपाध्यक्ष राजन खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिशूलीस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र बेत्रावतीस्थित उत्तरगया पब्लिक इङ्गलिस स्कुल बाढीबाट पूर्णरूपमा प्रभावित भएका छन्।
विपत्तिले विद्यालयका भवन मात्र होइन, विद्यार्थीको पढाइ, शिक्षकको रोजगारी र परिवारको सुरक्षित भविष्यसमेत प्रभावित बनाएको अवस्थामा प्याब्सनको यो निर्णयले तत्काल राहतसँगै शैक्षिक पुनःस्थापनालाई अघि बढाउने अपेक्षा गरिएको छ।

