टोखा १ द्वारा बाढीपीडितका लागि राहत संकलन तीव्र



काठमाडौँ,भदौ १८। टोखा नगरपालिका वडा नं. १ ले रसुवा र नुवाकोट लगायतका क्षेत्रका बाढीपीडितहरूका लागि राहत संकलन कार्यलाई तीव्रता दिएको छ। यहि भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयको आयोजनामा आज विशेष राहत संकलन कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रम वडा नं. १ को सीमाना साङ्ला भान्जेघाटबाट सुरु भई भडारे चोक र सिमाचौर हुँदै वडा कार्यालय चोक पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रमेश कुमार लामिछाने, जिल्ला समन्वय समितिका सदस्य राजकुमार बिडारी, कार्यपालिका सदस्य सुनिता श्रेष्ठ (परिवार), वडा सदस्यहरू सुनिता अधिकारी काफ्ले र विजय तामाङ तथा वडा सचिव कविता दाहालको उपस्थिति रहेको थियो।

यसैगरी राहत संकलन अभियानमा वडाभित्र रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, विद्यालयका प्रतिनिधि, स्थानीय संघ-संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत बाक्लो सहभागिता रहेको थियो।

अभियानको समापनका क्रममा वडा अध्यक्ष रमेश कुमार लामिछानेले राहत संकलनमा प्रत्यक्ष रूपमा खटिने सम्पूर्ण स्वयंसेवक तथा सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। साथै, उहाँले भोलि बिहान ७:०० बजे पुनः टोखा वडा नं. १ को वडा कार्यालय चोकमा जम्मा भई राहत संकलन कार्यलाई निरन्तरता दिइने जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्