दश मिनेटमै इतिहास बनेर रह्यो त्रिशूलीबजार
विदुर,भदौ १९। भदौ १० गते बुधबार बिहान १० बजेसम्म त्रिशूलीबजारमा अरू दिनझैँ सामान्य चहलपहल थियो। कोही खाना पकाउँदै थिए, कोही दैनिक काममा निस्कने तयारीमा थिए भने बालबालिका विद्यालय जाने तयारीमा। कसैले पनि केही मिनेटमै आफ्नो घर, व्यापार र वर्षौँदेखि जोडिएको जीवन नै बगेर जाने कल्पना गरेका थिएनन्।
तर, एकाएक चीनको स्वशासित क्षेत्रतर्फबाट भोटेकोशी हुँदै रसुवागढी नाका भएर आएको भीषण बाढीले नुवाकोटको ऐतिहासिक त्रिशूलीबजारलाई क्षणभरमै तहसनहस बनायो। लेदो, ढुङ्गा र माटोसहित आएको बाढीले करिब १० मिनेटमै बजारका अधिकांश संरचना बगायो। वर्षौँदेखि नुवाकोटको व्यापारिक, सामाजिक र ऐतिहासिक पहिचान बोकेको बजार अहिले भग्नावशेषमा परिणत भएको छ।
त्रिशूली अर्थात् साँगुरो बजारका रूपमा परिचित यो बस्ती नुवाकोटको इतिहाससँग गहिरोसँग जोडिएको थियो। सदियौँ पहिले काठमाडौँबाट नुवाकोट, धादिङ, गोरखा हुँदै पाल्पासम्म पैदल तथा घोडामार्फत आवतजावत गर्ने प्रमुख व्यापारिक तथा प्रशासनिक मार्ग यही क्षेत्र हुँदै जाने गरेको बताइन्छ।
नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा गोरखाबाट धादिङ हुँदै त्रिशूली नदी पार गरी नुवाकोटमाथि विजय प्राप्त गरेको इतिहाससँग पनि यो क्षेत्र जोडिएको छ। राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले त्रिशूलीकै तत्कालीन पुलबाट घोडासहित हामफालेको किंवदन्तीसमेत स्थानीयमाझ अझै जीवन्त छ।
नेवार समुदायसहित विभिन्न जातजातिको मिश्रित बसोबास रहेको यस बजारमा साना–ठूला गरी करिब एक हजार घर थिए। तर, भदौ १० गतेको बाढीले बजारको करिब ९० प्रतिशत संरचना ध्वस्त पारेको छ। माथिल्लो भागमा केही घरहरू सग्ला देखिए पनि तीसमेत बस्नका लागि सुरक्षित नरहेको स्थानीय बताउँछन्।
स्थानीय केशवबहादुर श्रेष्ठका अनुसार बाढीले उहाँको दुईतले घर पूर्ण रूपमा पुरेको छ। बिहान १० बजे घरमै बाढीको चपेटामा पर्नुभएका श्रेष्ठलाई बेलुकी ४ बजे जेसीबीको सहयोगमा अन्य १० जनासहित जीवितै उद्धार गरिएको थियो।
“नुवाकोटको पहिचान र इतिहास बोकेको बजार १० मिनेटमै समाप्त भयो। अब यो बजार कहिल्यै अघिल्लेजस्तै उठ्न सक्दैन,” श्रेष्ठले भावुक हुँदै भन्नुभयो। अचानक आएको बाढीका कारण धेरै मानिसले भाग्ने अवसरसमेत पाएनन्। स्थानीयका अनुसार त्रिशूलीबजार क्षेत्रबाट मात्रै ७० जनाभन्दा बढी मानिस बेपत्ता छन्। उनीहरूको खोजी कार्य अझै जारी छ।
बाढीले घर मात्र बगाएन, मानिसका वर्षौँदेखिका सम्पत्ति, व्यवसाय, कागजात र सम्झनाहरू पनि माटो र लेदोभित्र पुरिदियो। बाँचेकाहरू अहिले आफ्नै घरको अवशेष खोजिरहेका छन्। कसैले घरको जग खोजिरहेका छन्, कसैले पुरिएका सामानको आशामा लेदो कोट्याइरहेका छन्। कुनै समय व्यापारिक चहलपहलले भरिने बजार अहिले सुनसान छ। जहाँ पसलका सटर थिए, त्यहाँ लेदो र ढुङ्गाका थुप्रा छन्। जहाँ घरका आँगन थिए, त्यहाँ बाढीले ल्याएको माटो र भग्नावशेष छ।
त्रिशूलीबजार र पारिपट्टिको ढुङ्गेबजार जोड्ने दुईवटा पक्की मोटरेबल पुलसमेत बाढीले मिनेटभरमै ढालेर बगाएपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन तथा आवतजावत सहज बनाउन पुलभन्दा करिब पाँच सय मिटर माथिल्लो भागमा तुइन गाडेर आवतजावत गराउने प्रयास भइरहेको छ।
नेपाल सरकारका सम्बन्धित निकायले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट करिब आठ सय घरमा क्षति पुगेको छ। तर, स्थानीयवासीका अनुसार वास्तविक क्षति योभन्दा धेरै ठूलो छ। उनीहरूका अनुसार दुई हजारभन्दा बढी घरटहरा बाढीको चपेटामा परेका छन्।
बाढी आएको आठौँ दिन भदौ १७ गतेसम्म पनि त्रिशूलीबजारमा खोजी, उद्धार र राहत वितरणको काम जारी छ। बाँचेकाहरूको आँखामा अझै आफ्ना आफन्त भेटिने आशा छ। दिन बित्दै जाँदा त्यो आशा कमजोर बन्दै गए पनि परिवारका सदस्यहरू आफ्ना प्रियजनको खोजीमा जुटिरहेका छन्।
कुनै समय मानिसको चहलपहल, व्यापारिक कारोबार र ऐतिहासिक पहिचानले भरिएको त्रिशूलीबजार अहिले बाढीले ल्याएको लेदो र भग्नावशेषमुनि पुरिएको छ। दश मिनेटको त्यो विनाशकारी बहावले बजारका घर र संरचना मात्र बगाएन, नुवाकोटको इतिहास, संस्कृति र पुस्तौँदेखि जोडिएको जीवनशैलीमा समेत गहिरो चोट पुर्याएको छ।
त्रिशूलीबजार अब स्थानीयका लागि केवल एउटा बजार रहेन। यो उनीहरूले गुमाएको घर, व्यवसाय, इतिहास र आफन्तहरूको सम्झना बनेर बाँचेको छ।

