बाढीले विच्छेद गरेको सडक सञ्जाल जोड्न नुवाकोटका तीन स्थानमा बेलिब्रिज राखिँदै
विदुर, भदौ १९ । भोटेकोशी हुँदै चीनतर्फबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङका दर्जनौँ पुल बगाएपछि विच्छेद भएको सडक सञ्जाल तत्काल जोड्न नुवाकोटका तीन स्थानमा बेलिब्रिज जडान गरिने भएको छ।
बाढीले पुल तथा सडक संरचना बगाएपछि राहत सामग्री ढुवानी, उद्धार तथा प्रभावित क्षेत्रमा आवतजावतमा कठिनाइ भइरहेको छ। बाढीबाट हजारौँ घरमा क्षति पुगेको छ भने कतिपय बस्तीका घरको नामोनिसानसमेत नरहेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार त्रिदेशीय मार्गअन्तर्गत वीरगन्ज–गल्छी–देवीघाट–विदुर–बेत्रावती–रसुवागढी सडकखण्डमा पर्ने देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेलिब्रिज जडानका लागि बिहीबार प्राविधिकसहितको टोलीले तीनवटै स्थानमा पुगेर स्थलगत सर्वेक्षण गरेको छ। प्राविधिक टोलीले बेलिब्रिज जडान गर्न सकिने प्रतिवेदन दिएपछि केही दिनभित्रै आवश्यक सामग्री ल्याएर जडानको काम अघि बढाइने उहाँले बताउनुभयो।
“बेलिब्रिज जडान भएपछि नुवाकोटको पश्चिमी भेगसँगै नुवाकोटबाट रसुवातर्फको यातायात सम्पर्क सहज हुनेछ,” प्रजिअ रेग्मीले भन्नुभयो। बाढीले क्षतिग्रस्त पक्की पुल तत्काल पुनर्निर्माण गर्न सम्भव नभएकाले अस्थायी रूपमा ५० मिटरसम्म लम्बाइका बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने तयारी गरिएको हो।
सडक विभागअन्तर्गत पुल महाशाखाले पनि तत्काल यातायात सञ्चालन गर्न अत्यावश्यक स्थानलाई प्राथमिकतामा राखेर बेलिब्रिज जडानको काम अघि बढाउने जनाएको छ। बाढीले त्रिशूली नदीमा पर्ने नुवाकोट, रसुवा र धादिङका गरी करिब ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको जनाइएको छ। पुलहरू बगाएपछि तीन जिल्लाबीचको सडक सम्पर्क प्रभावित भएको छ।
केही स्थानमा वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि त्यसबाट मात्रै आवागमन सहज बनाउन कठिन भएको प्रशासनले जनाएको छ। सडक विभागसँग हाल ५० मिटरसम्म लम्बाइका करिब १० वटा बेलिब्रिज रहेको जनाइएको छ। तीमध्ये तत्काल आवश्यक पर्ने स्थानमा प्राथमिकताका आधारमा बेलिब्रिज जडान गरिनेछ। ५० मिटरभन्दा लामो पुल आवश्यक पर्ने स्थानमा भने नेपाली सेनासँग सहयोग लिने तयारी गरिएको छ। नेपाली सेनासँग ७३ मिटर लम्बाइका तीनवटा बेलिब्रिज रहेको जनाइएको छ।
प्राविधिक सर्वेक्षणपछि आवश्यक सामग्री केही दिनमै ल्याएर जडानको काम सुरु गरिने बताइएको छ। तत्काल यातायात सम्पर्क नभई नहुने र पहुँचमार्ग पूर्ण रूपमा ठप्प भएका स्थानलाई प्राथमिकता दिएर बेलिब्रिज जडान गरिने जिल्ला दैवी प्रकोप उद्धार तथा व्यवस्थापन समितिले जनाएको छ।
बाढीले क्षतिग्रस्त स्थायी पुल निर्माणमा लामो समय लाग्ने भएकाले तत्कालका लागि बेलिब्रिजमार्फत सडक सञ्जाल जोड्ने सरकारी तयारीले उद्धार, राहत वितरण र प्रभावित नागरिकको आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

