त्रिशूली–३ ‘ए’ सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनियो
रसुवा, भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको छ । सांसद एवम् सुरुङविद् श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएका नेपाली सेनाका टोलीबाट सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी आएको हो।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको उहाँको भनाइ छ।
न्यौपाने हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न हुनुहुन्थ्यो। अहिले उहाँ पैदलमार्ग हुँदै काठमाडौँ फर्कने तयारीमा हुनुहुन्छ।
उहाँले उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र रहेका व्यक्तिहरूको सकुशल उद्धारको आशा व्यक्त गर्नुभएको छ।

