त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि सेना नेतृत्वमा सक्रिय, मेडिकल टोली तयारी अवस्थामा
काठमाडौँ, भदौ १९। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न निरन्तर प्रयास गरिरहेको छ।
आयोजनास्थलमा नेपाली सेनाको मेडिकल टोलीलाई तयारी अवस्थामा राखिएको छ। उद्धारपछि फसेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल विद्युत् प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ।
सम्भावित घाइतेको तत्काल उपचार तथा उद्धारका लागि हेलिकोप्टर, स्थल एम्बुलेन्स र अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ। उद्धार कार्य पूरा भएपछि घाइते तथा उद्धार गरिएकालाई आवश्यकताअनुसार तत्काल उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाइएको छ।

