रसुवा बाढीमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार
रसुवा,भदौ १९ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
शुक्रबार बिहान उद्धार गरिएका उनीहरू सञ्जय साह र कविर महर्जन हुन्। सुरुङभित्र फसेका दुवै जनालाई उद्धार टोलीले जीवितै बाहिर निकालेको हो।
उद्धार गरिएका साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्। बाढीपछि आयोजनाको मर्मत कार्यका लागि उनी सुरुङभित्र पुगेको हुनसक्ने बताइएको छ।
त्यस्तै, कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर रहेको आयोजना प्रमुख आवास ओझाले जानकारी दिएका छन्।
बाढीपछि सुरुङभित्र फसेका अन्य व्यक्तिको उद्धारका लागि पनि नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

