त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका शाह र महर्जनको उपचार जारी
काठमाडौं,भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार महर्जनलाई एयर डाइनेस्टीको विमानमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ। शाहको भने नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।
सप्तरीको कोइलाडी–८ स्थायी ठेगाना भएका ३० वर्षीय शाह माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत हुनुहुन्थ्यो। यस्तै, काठमाडौंको बालकुमारी–३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत् स्वचालन परियोजनामा कार्यरत हुनुहुन्थ्यो।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेका उनीहरूलाई १० दिनपछि शुक्रबार जीवितै उद्धार गरिएको हो।

