विद्यालयमै बस्दै आएका शिक्षकको गोली हानी हत्या
सङ्खुवासभा,भदौ १९ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार विद्यालयमै बस्दै आउनुभएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएका बेला उहाँमाथि गोली प्रहार भएको थियो। घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

