सडक अवरुद्ध हुँदा बाजुराको ६० प्रतिशत स्याउ बारीमै खेर जाने जोखिम



बाजुरा,भदौ १९— बाजुराका किसानका बगैँचा यतिबेला पाकेको स्याउले राताम्मे बनेका छन्। उत्पादन बढ्दै गए पनि बजारसम्म पुर्‍याउने सडक र भण्डारणको व्यवस्था नहुँदा किसान भने चिन्तित बनेका छन्।

जिल्लाको पूर्वी–उत्तरी भेगका बूढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका स्याउ उत्पादनका मुख्य क्षेत्र हुन्। पछिल्ला वर्षमा व्यावसायिक स्याउ खेती विस्तार भएसँगै उत्पादनसमेत बढ्दै गएको छ।

तर वर्षायाम सुरु भएयता तीन महिनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा किसानलाई स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको छ। कृषकका अनुसार बगैँचामा उत्पादन भएको करिब ४० प्रतिशत स्याउ मात्रै बजारसम्म पुग्ने गरेको छ। सडक अवरुद्ध रहेकाले बाँकी ६० प्रतिशत स्याउ बारीमै खेर जाने जोखिम बढेको उनीहरूको गुनासो छ।

बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनका कृषक शेरबहादुर रावतका अनुसार अधिकांश स्याउ पाकिसकेकाले टिप्न सुरु गरिए पनि सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका कृषक मिलन शाहीले लाखौँ रुपैयाँ लगानी गरेर स्याउ खेती गरे पनि ढुवानी र बजारको समस्याका कारण उत्पादन खेर जाने अवस्था आएको बताउनुभयो।

किसानका अनुसार सडक बन्द भएका बेला स्याउ सुरक्षित राख्न सके सडक खुलेपछि राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। त्यसका लागि चिस्यानयुक्त भण्डार अर्थात् शीतभण्डारको तत्काल आवश्यकता रहेको कृषक उज्ज्वल रावतले बताउनुभयो।

बाजुरामा स्याउ उत्पादन बढ्दै गए पनि उचित मूल्य, भण्डारण, प्याकेजिङ र ढुवानीको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। किसानले उत्पादन हुने गाउँसम्म सडक विस्तार गरी बाह्रै महिना यातायात सञ्चालन हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिलामन्त्री नरेश शाहीले बाजुरामा उत्पादन हुने स्याउले सिङ्गो सुदूरपश्चिमको माग धान्न सक्ने सम्भावना रहेको बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बूढीनन्दा, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानमा करिब ३ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ।जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

चालु आर्थिक वर्षमा स्याउ ढुवानीका लागि अनुदान कार्यक्रम राखिए पनि स्याउ पाक्ने समयमा प्रदेशको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर बिष्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्