कृष्णभीरमा नयाँ ट्र्याक खोल्न थालियो, भदौभित्रै सडक सञ्चालन गर्ने लक्ष्य



धादिङ, भदौ १९— पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा नयाँ ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ। दुई दिनसम्म रुख, बाँस र झाडी फाँड्नुका साथै ग्याबिन भत्काएर क्षेत्र सफा गरेपछि आजदेखि डाँडाको माथिल्लो भाग सफा गर्ने र दुवैतर्फबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो।

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी ट्र्याक खोल्न थालिएको छ। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्। सडकको छेउबाट सात मिटर पर ट्र्याक खोल्न लागिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार एक सातादेखि १० दिनभित्र ट्र्याक खोल्ने काम पूरा गर्ने लक्ष्य राखिएको छ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार दुई दिन क्षेत्र सफा गरेपछि ट्र्याक खोल्ने काम अघि बढाइएको हो। सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडा काटेर सडक खोल्न लागिएको छ। करिब ३५० मिटर लामो र सात मिटर चौडा ट्र्याक निर्माण गरिने उहाँले बताउनुभयो।

यसअघि सञ्चालनमा रहेको करिब २०० मिटर लामो सडक भासिएर चिरिएपछि यातायात अवरुद्ध भएको थियो। उक्त स्थानमा १० मिटर फराकिलो सडक रहेको थियो। त्रिशूली नदीले सडकको फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो।

भदौ १४ गते सडक भासिएपछि राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ। सरकारले यथासक्य छिटो सडक सञ्चालन गर्न आवश्यक निर्णय तथा निर्देशन दिइसकेको छ। भदौभित्रै कृष्णभीर खण्ड सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको आयोजनाले जनाएको छ।

कृष्णभीरको सडक मर्मतसम्भार गरिएपछि २०६० सालदेखि सो खण्डमा यातायात सञ्चालन सहज हुँदै आएको थियो। सडकको दुवैतर्फ कडा चट्टान रहे पनि भीरको बीच भागमा करिब ६० देखि ७० मिटर क्षेत्र केही कमजोर रहेको इन्जिनियर मिश्रले बताउनुभयो। अहिले समस्या देखिएको क्षेत्र यही कमजोर भूभागमा पर्छ।

गत वर्ष पनि सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मतको काम भइरहेको थियो। पछिल्लो पटक त्रिशूली नदीको कटानसँगै सडकको ठूलो भाग प्रभावित भएपछि वैकल्पिक ट्र्याक खोल्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्