रसुवा बाढी : मृतकको सङ्ख्या एक हजार २९० पुग्यो, चार हजार ८१५ अझै बेपत्ता
काठमाडौं,भदौ १९ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार २९० पुगेको छ। बाढीपछि अझै चार हजार ८१५ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। त्यस्तै, आंशिक अङ्गसहितका ५३२ शव फेला परेका छन्। उपचारका क्रममा अस्पतालमा दुई जनाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीनमध्ये दुई हजार ३६९ पुरुष र ४७८ महिला नेपाली नागरिक छन्। प्रहरीलाई फोनमार्फत हराएको जानकारी गराइएका नागरिकको सङ्ख्या एक हजार ३५० रहेको छ। विदेशी नागरिकतर्फ २७४ पुरुष र ३४४ महिला अझै बेपत्ता रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।
बाढी प्रभावित विभिन्न स्थानमा फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापनको काम प्रहरीले निरन्तर गरिरहेको छ। ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
आठ हजार १९७ जनाको उद्धार
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म आठ हजार १९७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार हजार ६१८ पुरुष र दुई हजार ४७२ महिला छन्।
त्यस्तै, ९०३ विदेशी पुरुष र १५२ विदेशी महिलाको समेत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ५२ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
डिएनए नमुना सङ्कलन
बेपत्ता तथा फेला परेका शवको पहिचानका लागि प्रहरीले डिएनए नमुना सङ्कलनलाई समेत तीव्रता दिएको छ। मृतक एक हजार १४३ जना तथा मृतकका आफन्त ७१९ जनासहित एक हजार ८६२ जनाको डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
९२६ शवको व्यवस्थापन
प्रहरीका अनुसार हालसम्म ९२६ शवको आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापनको काम पनि जारी रहेको जनाइएको छ।
बाढीपछि ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन रहेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको समन्वयमा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। परिवारजनबाट प्राप्त सूचना र अन्य विवरणका आधारमा बेपत्ताको तथ्याङ्कसमेत निरन्तर अद्यावधिक भइरहेको प्रहरीले जनाएको छ।

