चमेलिया नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह



दार्चुला,भदौ १९। पहिरोका कारण चमेलिया नदी (चौलानी नदी) पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेपछि दार्चुलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा साना पहिरो खस्ने क्रम अझै जारी छ। लगातार सिमसिम पानी परिरहेकाले नदी थुनिने जोखिम थप बढेको प्रशासनले जनाएको छ।

नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।

पहिरो गएको स्थानभन्दा तल्लो क्षेत्रमा अपिहिमाल, मार्मा र शैल्यशिखर नगरपालिका तथा लेकम गाउँपालिका पर्छन्। ती स्थानीय तहलाई सम्भावित जोखिमबारे जानकारी गराइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

स्थानीयस्तरमा चमेलिया नदीलाई चौलानी नदीसमेत भन्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्