बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन, शव व्यवस्थापनपछि निःसंक्रमणमा जोड



काठमाडौं,भदौ १९ । बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनसँगै थप स्वास्थ्य समस्या आउन नदिन चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको छ।

स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार, शव व्यवस्थापन तथा पोस्टमार्टमलगायतका कार्यमा समन्वय गरिरहेको छ। शव व्यवस्थापनपछि प्रभावित क्षेत्रमा वातावरण निःसंक्रमणको कामसमेत सँगसँगै अघि बढाइएको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन तथा शव व्यवस्थापनपछि जनस्वास्थ्य जोखिम बढ्न नदिन स्वास्थ्य टोलीले काम तीव्र बनाएको हो।

तीनवटै जिल्लामा विभिन्न सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरिएको छ।

यसैगरी, प्रभावित क्षेत्रमा सोरामासमार्फत ज्वरो तथा झाडापखालाजन्य रोगका बिरामीको नियमित अनुगमनसमेत भइरहेको छ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोखरेलका अनुसार प्रभावित क्षेत्रमा शव व्यवस्थापन र त्यसपछि वातावरण निःसंक्रमणको कार्यलाई थप तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्