सुरुङमा फसेका प्राधिकरणका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं,भदौ १९ । बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

ऊर्जामन्त्रीको सचिवालयका अनुसार आज बिहान जीवितै उद्धार गरिएका सञ्जय साह र कबिर महर्जनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। दुवै जनालाई सुरुङबाट उद्धार गरेपछि प्रारम्भिक उपचार गरी काठमाडौं ल्याइएको हो।

भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी र पहिरोपछि माथिल्लो त्रिशूली–३ ‘ए’ को भूमिगत विद्युत्गृहमा कार्यरत कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका थिए। त्यसपछि नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणलगायतका टोलीले सुरुङभित्र खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका थिए।

लामो समय सुरुङभित्र फसेका दुई कर्मचारीलाई जीवितै उद्धार गर्न सफल भएपछि अन्य सुरुङमा फसेका व्यक्तिको समेत जीवितै उद्धार हुने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र अन्य सम्भावित जीवित व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्