पहिरोले भट्टार बस्ती उच्च जोखिममा, १० परिवार सुरक्षित स्थानमा सारिए
दार्चुला,भदौ १९ । दार्चुलाको अपिहिमाल गाउँपालिका–भट्टार क्षेत्रमा गएको पहिरोका कारण बस्ती उच्च जोखिममा परेका छन्। पहिरोले सडक तथा पदमार्गमा ठूलो क्षति पुर्याउनुका साथै चौलानी नदीको बहावसमेत बढेको छ।
पहिरोको जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार ती परिवारलाई आफन्तको घरमा सारिएको छ भने आवश्यक पाललगायत सामग्रीसमेत उपलब्ध गराइएको छ।
पहिरोले पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको अध्यक्ष बोहराले बताउनुभयो। उहाँका अनुसार पहिरो झर्ने क्रम अझै रोकिएको छैन, जसका कारण बस्ती थप जोखिममा परेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोका कारण चौलानी नदीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिमसमेत बढेको छ। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ। प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

