भोटेकोशी–त्रिशूली बाढी : खोज तथा उद्धार तीव्र
काठमाडौं,भदौ १९ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। २०८३ भदौ १९ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका सात र गैरसैनिकतर्फका छ वटा हवाई साधन परिचालन गरी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विज्ञ सम्मिलित संयुक्त टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ। सोही क्रममा सुरुङबाट एक शवसमेत निकालिएको छ भने थप खोजी जारी छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, गैरसैनिक तथा आयोजनाका अधिकारी सम्मिलित टोलीले खोजी गरिरहेको छ। आयोजनाको कार्यालय र निवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनिए पनि हालसम्म केही फेला परेको छैन। त्रिशूली–३ ‘ए’ सँग जोड्ने उद्देश्यले उत्खननका माध्यमबाट करिब सात सय मिटर बाटोसमेत सफा गरिएको छ।
लाङटाङ हाइड्रोपावरको सुरुङभित्र प्रवेश गरेको संयुक्त टोलीले दुई शव फेला पारेको छ। त्यहाँ थप खोज तथा उद्धार जारी छ। चिलिमे हाइड्रोमा विदेशीसमेत सहभागी टोलीले लेदो हटाउने काम गर्दै सुरुङभित्र थप करिब एक सय मिटर प्रवेश गरेको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले र्याफ्ट तथा डुंगाको प्रयोग गरी खोजी गरिरहेको छ। सुरुङभित्र जमेको पानी निकाल्ने कामसमेत भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाका क्रममा देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली परिचालन भएको छ। ५५ जनाको टोलीले पुल जडानका लागि आधार निर्माण गरिरहेको छ। जडान गर्न गजुरीमा रहेको एक्रो पुलका केही सामग्री त्रिशूली पुर्याइएको छ भने थप सामग्री ढुवानी भइरहेको छ।
प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा समेत नेपाली सेनाले पैदल गस्ती गरिरहेको छ। चिकित्सकसहितको टोलीले स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउँदै आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार तीन सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

