चीनबाट एक साताभित्र अर्को हिमपहिरोको सम्भावना, प्राधिकरण भन्छ–‘तत्काल ठूलो बाढीको सम्भावना छैन’



नुवाकोट,भदौ १९ । नुवाकोट क्षेत्र नम्बर २ का सांसद अच्युतम लामिछानेले चीनबाट प्राप्त प्रतिवेदनलाई उद्धृत गर्दै आगामी एक साताभित्र अर्को हिमपहिरोको सम्भावना रहेको जानकारी प्राप्त भएको बताएका छन्।

बेलुकाको सुरक्षा लगायत सम्पूर्ण समीक्षा बैठकमा प्राप्त सूचनाका आधारमा चीनबाट यस्तो जानकारी आएको उल्लेख गर्दै सांसद लामिछानेले सम्भावित जोखिमप्रति सजग रहनुपर्ने बताएका हुन्। उनका अनुसार दिउँसो सम्भावित दुर्घटना भए अग्रिम सूचना प्राप्त गर्न सकिने भए पनि रात्रिकालीन समयमा थप सतर्कता अपनाउनुपर्ने अवस्था छ।

यसैबीच, चीनको जलस्रोत मन्त्रालयले नेपाली अधिकारीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको छ। मन्त्रालयको पछिल्लो मूल्याङ्कनअनुसार कुओजियान नदीको माथिल्लो क्षेत्रमा रहेको हिमनदीको अगाडिको भागमा चिरा फराकिलो भएको छ। यससँगै हिमनदी भत्किने जोखिम बढेको जनाइएको छ।

यद्यपि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नरहेको स्पष्ट पारेको छ।

प्राधिकरणले शुक्रबार राति ८ः४० बजे जारी गरेको सूचनामा नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोटन भएर बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट अत्यधिक फोन सम्पर्क आइरहेको जनाएको छ। चिनियाँ समकक्षी निकायसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन भइरहेको भन्दै प्राधिकरणले हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको जनाएको हो।

प्राधिकरणले पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ। साथै, बाढीको सम्भावना देखिएमा एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिने जनाएको छ। थप जानकारी आवश्यक परे प्राधिकरणको टोल–फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्