श्रीकृष्ण जन्माष्टमीमा देशभर रथयात्रा र शोभायात्रा निकालिँदै
काठमाडौँ, भदौ २० । भगवान् श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशभरका विभिन्न स्थानमा रथयात्रा तथा शोभायात्रा निकालिँदै छ।
पाप र अधर्मको संहार तथा सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको जनविश्वासमा भाद्र कृष्ण नवमीका दिन कृष्ण मन्दिरहरूमा रथयात्रा र शोभायात्रा निकाल्ने परम्परा छ।
यस अवसरमा बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरबाट विशेष रथयात्रा निकालिँदै छ। काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्राको तयारी गरेका छन्।
गोकर्णेश्वर–८ बेँशीगाउँस्थित श्रीकृष्ण मन्दिरबाट समेत आज रथयात्रा निकालिने भएको छ। रथयात्रामा हजारौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
पौराणिक ग्रन्थहरूमा भगवान् श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको उल्लेख छ।
धर्मको स्थापना र सत्यको पक्षमा लाग्नेको रक्षाका लागि युग–युगमा अवतार लिने प्रसङ्ग पनि धार्मिक ग्रन्थमा वर्णित छ।

