वैकल्पिक मार्गबाट ग्यास ल्याउन उद्योगी सक्रिय, काठमाडौँको अभाव हट्ने अपेक्षा
चितवन,भदौ २०। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन उद्योगीहरूले उपत्यकाबाहिरै ग्यास भरेर वैकल्पिक मार्गबाट ल्याउने तयारी थालेका छन्।
नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास भरेर सिलिण्डर ल्याउन अनुमति दिएपछि उद्योगीहरूले चितवन, मकवानपुर, नवलपरासी र अन्य क्षेत्रमा रहेका उद्योगमार्फत ग्यास भर्न थालेका हुन्। राजधानीबाट खाली सिलिण्डर ट्रकमार्फत बाहिर लगेर ग्यास भरी पुनः वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक करिब ४० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले माग अत्यधिक बढेको छ।
उद्योगीहरूले दुई सिफ्टमा ग्यास भर्ने व्यवस्था मिलाएकाले केही दिनमै अभाव कम हुने अपेक्षा गरिएको छ। चितवन, मकवानपुर, गैंडाकोट, बनेपा, परासीलगायतका उद्योगबाट विभिन्न कम्पनीका सिलिण्डरमा ग्यास भरेर राजधानी पठाउन थालिएको छ। सडक अवरोधका कारण ढुवानीमा समस्या भए पनि वैकल्पिक मार्ग प्रयोग गरेर आपूर्ति सहज बनाउने प्रयास भइरहेको सङ्घले जनाएको छ।
यसैबीच साल्ट ट्रेडिङ कर्पोरेसनले पनि निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउन थालेको छ। धादिङको जुगेखोलास्थित कर्पोरेसनको ग्यास प्लान्टमा आपूर्ति प्रभावित भएपछि अन्य स्थानका उद्योगसँग सहकार्य गरिएको हो।
कर्पोरेसनले उपभोक्तालाई मौज्दात नगर्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। पछिल्लो महिना भारतबाट ६० हजार २०० मेट्रिक टन ग्यास आएको र आपूर्ति निरन्तर रहेकाले दीर्घकालीन अभाव नहुने उद्योगीहरूको भनाइ छ।

