१० दिनपछि छोरा जीवितै भेटिँदा आमाको आँसुमा खुसी



सप्तरी, भदौ २० । भोटेकोशी बाढीपछि १० दिनदेखि सम्पर्कविहीन रहेका तिलाठी कोइलाडी–४ का ३२ वर्षीय सञ्जय साहको जीवितै उद्धार भएपछि उहाँको परिवारमा खुसी फर्किएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत सञ्जय भदौ १० गतेदेखि सुरुङभित्र सम्पर्कविहीन हुनुहुन्थ्यो। शुक्रबार बिहान उहाँको सकुशल उद्धार भएको खबर पाएपछि ५० वर्षीया आमा कपुरदेवी साह दस दिनपछि ओछ्यानबाट उठ्नुभयो र खाना खानुभयो।

परिवारसँग सञ्जयको अन्तिम सम्पर्क भदौ १० गते बिहान भएको थियो। भाइ सञ्जीवका अनुसार भिडियो कलका क्रममा सञ्जयले सुरुङभित्रका मेसिन देखाउँदै गर्दा करिब पाँच सेकेन्डमै फोन काटिएको थियो।

छोराको उद्धारको खबर कृष्णाष्टमीकै दिन आएपछि कपुरदेवीले यसलाई भगवान् श्रीकृष्णको कृपा मान्नुभएको छ। सञ्जय धार्मिक स्वभावका रहेको र श्रीमद्भागवतमा विशेष रुचि राख्ने उहाँले बताउनुभयो।

सञ्जयको काठमाडौँस्थित नेपाली सेनाको छाउनी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। उद्धारको खबरपछि दस दिनदेखि सुनसान रहेको साह परिवारको घरमा आफन्त तथा छिमेकीको बधाई र शुभकामनासहित चहलपहल बढेको छ।

प्रतिक्रिया दिनुहोस्