भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३४४ पुग्यो, ४,८९८ अझै बेपत्ता



काठमाडौं,भदौ २० । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ।

नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार हालसम्म एक हजार ३४४ शव फेला परेका छन्।

प्रहरीका अनुसार उक्त तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो। फेला परेका शवमध्ये ५२ जना बालक, ३३ जना बालिका, २६९ जना महिला र ४८९ जना पुरुष छन्। यस्तै, आंशिक अंग फेला परेका ५०१ शव रहेको प्रहरीले जनाएको छ।

पछिल्लो विवरणअनुसार अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन्। बाढी प्रभावितमध्ये हालसम्म आठ हजार ६३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन्।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि सात हजार ९१२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्